अब राष्ट्रपति विद्यादेवी पनि विद्युतीय सवारीमा
PRAYASH
August 27, 2018

भाद्र ११, काठमाडौं । संसारभर विद्युतीय सवारीको प्रयोग बढेसँगै अब नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले पनि विद्युतीय सवारी चढ्ने भएकी छिन् । हिजोमात्र उर्जामन्त्री वर्षमान पुन(अनन्त)ले विद्युतीय सवारीको प्रयोग औपचारिक रुपमै सुरुवात गरेपछि त्यसैको निरन्तरतामा राष्ट्रपति भण्डारीले पनि विद्युतीय गाडीनै प्रयोग गर्ने भएकी हुन् ।
स्वदेशी तथा नविकरणिय उर्जास्रोतबाट चल्ने सवारीको प्रयोगलाई प्राथमिकता दिएकोमा माननिय व्यक्तित्वहरुको यस किसिमको स्वागतयोग्य कदमको सम्मान गर्नै पर्छ ।

टोयोटाको महँगो डिजल गाडी प्रयोग गर्दै आएका पुनले आइतबारदेखि ‘वीवाइडी’ ब्राण्डको बा २ झ ८९०३ नम्बरको विद्यतीय गाडी प्रयोग गर्न थालेका छन् । केही समय अघि जारी गरेको स्वेतपत्रमा समेत उनले विद्युतीय सवारी साधनहरुको उपयोग वृद्धि र यसको उपयोगलाई प्रोत्साहन गर्ने उल्लेख गरेका थिए ।
योजना अनुसार नै नेपाल विद्युत प्राधिकरणले करिब ६० लाख रुपैयाँ बराबरको विद्युतीय गाडी उर्जामन्त्री पुनलाई उपलब्ध गराइएको हो ।
योसँगै अब राष्ट्रपती विद्यादेवी भण्डारीले पनि विद्युतीय सवारी नै प्रयोग गर्ने भएकी छिन् । राष्ट्रपतीको चाहना अनुरुप उनका लागि पनि चिनियाँ कम्पनि वीवाईडीको ई–सिक्स मोडलको विद्युतीय सवारी खरिद गरिएको राष्ट्रपती कार्यलयले जनाएको छ ।
अहिले राष्ट्रपति सवारका लागि राष्ट्रपति कार्यलयमा करिब आधा दर्जन भन्दा बढि जैविक उर्जाबाट चल्ने करोडौं मुल्यका महंगा सवारीहरु छन् ।

नेपाल विद्युत प्राधिकरणले देश अब विद्युतमा आत्मनिर्भर हुन थालेकाले विद्युतीय गाडीको प्रयोगलाई जोड दिनुपर्ने बताउँदै आएको छ । यसको सफलताका लागि प्राधिकरणले विभिन्न ठाउँमा विद्युतीय गाडीको लागि चार्जिङ स्टेशन बनाउने योजना समेत अघि बढाएको छ ।
सरकारले विद्युतीय सवारीकोे प्रयोगलाई प्रोत्साहन गर्न विद्युतीय सवारीलाई उच्च प्राथमिकतामा राख्दै यसको खरिदमा शतप्रतिशत राजस्व र नविकरणमा छुट दिएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् ।
सन् २०३० सम्ममा भारत,चिन लगाएत अन्य युरोपेली मुलुकहरुले पेट्रोलियम उर्जाबाट चल्ने सवारी पूर्णरुपमा हटाईसक्ने प्रतिवद्धता जनाईसकेको अवस्थामा, पछिल्लो पटक नेपालले पनि यसै योजनाअनुरुप पेट्रोलियम सवारीको प्रयोगलाई विस्तारै विस्तापित गर्दै जाने नीति लिएको छ ।