अबको युग आईटीको युग हो ।
Kashiram Bajgain
August 24, 2018

शम्भु पोखरेल (कार्यकारी अध्यक्ष, बिजनेश टेलिभिजन)

सञ्चारउद्यमी शम्भु पोखरेल कुटनीतिक दिशातिर अघि बढेका छन् । नेपालकै पहिलो बिजनेश टेलिभिजन खोलेर ईतिहास बनाएका पोखरेल अब कुटनीतिक क्षेत्रतिर लम्किन थालेका छन् । विगत १२ बर्षदेखि नेपालको कुटनीतिक क्षेत्रमा आफ्नो तर्फबाट औपचारिक अनौपचारिक रुपमा योगदान दिदै आएका पोखरेल अब कुटनीतिक क्षेत्रमै सकृय हुन लागेका हुन् ।
१८ बर्ष अघि खल्तीमा सय रुपैयाँ र झोलामा केही कपडा अनि किताबहरु बोकेर जनकपुर चुरोट कारखानाको ढुवानी ट्रकमा सर्लाहीबाट हिडेका पोखरेल काठमाण्डौ आएका कुरा परिवारले केही हप्तापछि मात्र थाहा पाएका थिए ।
आई एस्सीमा कक्षा ११ को परिक्षा दिएर हिडेका पोखरेल काठमाण्डांै आएर थापाथलीमा डिप्लोमा ईन्जिनियरिङको तयारी कक्षा लिन पुगे । तर ११ कक्षा सकिसकेको अवस्थामा फेरी ३ बर्षको डिप्लोमा ईन्जिनियरिङ गर्नुभन्दा १२ कक्षा सकेर बि. ई. (व्याचलर ईन ईन्जिनियरिङ) गर्नु उचित भन्ने सोचेर पोखरेलले प्रवेश परिक्षा नै ध्यानपुर्वक दिएनन् र फेरी फर्किए गाउँतिरै । एक बर्षपछि आईएस्सी सकेर बि. इर्. पढ्ने की भन्ने सोच उनले बनाए । तर एकजना ईन्जिनियरको दयनीय हालत देखेपछि उनको ईन्जिनियर बन्ने ईच्छापनि रहेन र लागे २४ बर्षभित्रै पिएचडी सक्ने भनेर पढाईतिर । तर परिवारको खर्चबाट पढ्न सम्भव थिएन र उनी केही समय शिक्षण पेशामा लागे । निजी स्कुलमा विज्ञान विषयको शिक्षकका रुपमा उनले केही बर्ष काम गर्दा गर्दै उनलाई तत्कालिन समाजिक संरचना र सोचप्रति चित्त बुझेन । र समाज परिवर्तनका लागी काम गर्ने अठोटका साथ उनि पत्रकारिता तर्फ लम्किए ।
केही समय मोफसलमै पत्रकारिता गरेका पोखरेल नेपालकै पहिलो साईन्स म्यागेजिन द डिस्कभरी एण्ड ईन्भेन्सन निकाल्ने भन्दै पुन काठमाण्डौ लम्किए र काठमाण्डौमा पत्रकारिता गर्दागर्दै नेपाल टेलिभिजनको जिल्ला सम्बाददाताका रुपमा सर्लाही पसेका पोखरेलको टेलिभिजन पत्रकारिता त्यसपछि कहिल्यै सुस्त गतिमा अघि बढेन, बरु अहिले एपेक्समा पुगेको छ ।
पोखरेल अहिले बिजनेश टेलिभिजनका कार्यकारी अध्यक्ष तथा सम्पादक हुन् । नेपालकै पहिलो बिजनेश टेलिभिजनको संस्थापक पोखरेल अहिले आफ्नो आर्थिक पत्रकारितालाई आर्थिक कुटनीतिमा परिणत गर्ने सोचका साथ अघि बढेका छन् । अन्तराष्ट्रिय सम्बन्धमा विद्यावारिधी (पिएचडी) गर्दै गरेका पोखरेल अहिले द्रुत गतिमा काम गर्ने क्षमता भएकालाई अवसर दिए मात्र देशले खोजेको र जनताले सोचेको विकासको गति समात्न सकिने बताउँछन् ।
ईन्टरमिडियट लेबल साईन्समा गरेका पोखरेलले स्नातक तह भने विज्ञान शिक्षा (बि. एड. साईन्स) र कानुन (एल. एल. बि.) मा गरेका छन् । त्यसैगरी राजनीतिक शास्त्र र मानबशास्त्र÷समाजशास्त्रमा गरी दुई बिषयमा स्नातकोत्तर गरेका पोखरेलले कुटनीतिक क्षेत्रमा विशेष योगदान पुर्याउने उद्धेश्यका साथ विद्यावारिधी गर्दै छन ।
नेपालको कटुनीतिक क्षेत्र कमजोर हुनुमा विश्वविद्यालयमा यस बिषयमा पढाई नहुनु नै मुख्य कारक हो भन्ने निश्कर्षका साथ पोखरेलले आफ्नो व्यक्तिगत पहलमा त्रिभुवन विश्वविद्यालयमा कुटनीतिक डिग्री (एमआईआरडी) स्थापना गराएका छन् । उनलाई एमआईआरडी स्थापना गराउन ४ बर्ष लागेको थियो । त्यसैगरी राजदुतहरुलाई आधारभुत रहनसहनको तालिम दिने देखी लिएर आर्थिक कुटनीतिका लागी बजेट विनियोजन गर्नमा समेत पोखरेलले विगतदेखि खास भुमिका निभाउँदै आएका छन् ।
ज्ञानको सर्वाेच्चता र तर्कको आधारशिलालाई आधार स्तम्भ मान्ने पोखरेल अध्ययनका लागी जतिसुकै समय बिताउँदा पनि नपुगेको महसुस गर्दछन् । अहिले पनि उनी दैनिक ६ देखि ८ घण्टा निरन्तर किताबहरु अध्ययन गर्ने गर्दछन् र दिनको ४–५ घण्टा मात्र शरीरलाई बिश्राम दिन्छन् । उनी भन्छन् ‘म सुत्नका लागि सुत्दिन, शरीरलाई चलायमान राख्नका लागी मात्र बिश्राम लिन्छु । राजनीति, धर्म, विज्ञान, दर्शन, ईतिहासको आदिको पनि राम्रो ज्ञान रहेको उनीभित्र मोटिभेशनल स्पिकरको सफल व्यक्तित्व पनि रहेको छ । उनले लगानी, आर्थिक समृद्धि तथा उद्योगको क्षेत्रमा केन्द्रित रही सन् २०१४ मा लण्डन र जर्मनीमा वक्ताका रुपमा व्यवसायीहरुलाई मोटिभेटिङ स्पिच दिएका थिए । केही समय अघि मात्र बैंककमा आयोजित स्टार्टअप थाईल्याण्ड २०१८ मा क्रेताहरुको भबिष्य (फ्युचर अफ सपोहोलिक) बिषयमा आफ्नो एक कि नोट स्पिच दिएका थिए । उनको स्पिच स्टार्टअप थाईल्याण्ड २०१८ कै सर्वाधिक रुचाईएको मध्येको एक स्पिचका रुपमा रहेको आयोजकले बताएका थिए । नयां सोच र अन्तर्दृष्टि प्रस्तुत गर्न सक्ने पोखरेल केही समयपछि आगामी पुस्तालाई मोटिभेसनल स्पिच दिनका लागी रसिया जाँदैछन् ।
देश आर्थिक समृद्धितर्फ अघि बढ्नु पर्छ भन्ने विचार राख्ने उनी भन्छन् ‘हामी अनुभव भएकालाई सम्मान गर्छौं, तर अनुभव कुन कुराको छ त्यसले अर्थ राख्छ । कुटनीतिक क्षेत्रमा हामी कहाँ सक्सेस स्टोरीहरु एकदमै कम छन् । सक्सेस स्टोरी हुँदा हुन् त हामीकहाँ धेरै लगानी आएको हुन्थ्यो, अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक सम्बन्धमा विकास भएको हुँदो हो । हामील्े युएन सेक्युरिटी काउन्सिलको अस्थाई सदस्यमा हारेका छौं, अन्तराष्ट्रिय मञ्चहरुको कठघारामा खास कारणले उभिएका छौं । यी कुराहरु नेपालको कुटनीतिक असफलताकै उदाहरण हुन् । अबको युग आईटीको युग हो, त्यसैले अबको हरेक क्षेत्रमा योंग र आईटी एक्स्पर्ट ईन्टिलेक्चुअल जेनेरेसनलाई प्राथमिकता दिनुपर्छ । नयाँ आइडियाबाट मात्र देशको ईच्छित समृद्धि सम्भव छ । साइनाईड खायो भने मरिन्छ, तर मरिन्छ भन्ने जान्नका लागि अब हामी प्रत्येकले साइनाइड खानैपर्छ भन्ने छैन, हरेक कुराको ज्ञान त्यस क्षेत्रमा फेल भएपछि मात्र हाँसिल गर्न सकिन्छ भन्ने होईन ।
But now every second counts, every moment is important. अब हारेर भन्दा पनि हार हेरेर सिक्नुपर्ने बेला भएको छ, अघिल्ला पुस्ताले पु¥याएको योगदानलाई हामी कदर गर्छौं, तर युवापुस्तालाई अब अवसर दिएमा मात्र पुराना पुस्ताले जस पाउन सक्ने अवस्था हुन्छ । हामीले हरेक असफलताको ककटेल पिएर ज्ञान प्राप्त गरेका छौं ।’
आजको दिनमा ईकोनोमिक ईश्यु नै पिभोटल हुने भन्दै उनी थप्छन् ‘हामी पोलिटिकल रिलेसनलाई मेन्टेन गर्दै ईकोनोमिक रिलेसनलाई अघि बढाउन सक्छौं, नेपाल कुनै एक महंगो सपिङ सेन्टरमा सजाएर राखेको सुन्दर सोकेस जस्तो हो । यहाँ प्रशस्त सम्भावनाहरु छन् । हरेक बैदेशिक सम्बन्ध, कार्यक्रमहरुलाई अब देशको अर्थतन्त्रसँग जोडेर जानुपर्छ । कुनै देशका व्यक्तिहरु नेपालमा लगानी गर्न वा सहकार्य गर्ने विषयमा मिटिङ गर्न चाहन्छ भने त्यसलाई आजै सम्बोधन गर्नुपर्छ, भोलि भनेर टार्नु हुँदैन । देशमा निजी क्षेत्रको लगानी बढाउनुपर्छ, निजी क्षेत्रलाई आर्कषण गर्नुपर्छ र सिमित समयको लागी यहाँका डाँडाकाँडाहरुलाई निजी क्षेत्रलाई लिजमा दिन सकिन्छ । त्यसले लगानी मात्र होईन, प्रविधि र बजार समेत तान्नेछ ।’
आर्थिक समृद्धि कसरी सम्भव छ भन्ने प्रश्नमा उनी थप्छन् ‘पैसाको तपाई एउटा परिभाषा बनाउनुस्, तपाई मन्दिरमा गएर चढाउनुस् त्यो भेटी हुन्छ, बाहिर निस्कनुस् माग्नेलाई दिनुस्, त्यो भिख हुन्छ, अलि पर जानुस् जुत्ता पोलीस गर्नेलाई दिनुस्, त्यो पारिश्रमिक हुन्छ र अलिपर गएर रेष्टुरेण्टको वेटरलाई दिनुस, त्यो टिप्स हुन्छ, ट्याक्सीवालालाई दिनुस् भाडा हुन्छ । पैसा त पैसा हो, पछि त्यही पैसा घुम्दै फिर्दै तपाईको गोजीमा आउँछ, त्यो तपाईको कमाई हुन्छ । पैसाको रङ हुँदैन । कहाँ कसरी प्रयोग भयो कुरो त्यति मात्र हो । त्यसकारणले अब हामीले इकोनोमीलाई डिफाइन गरिरहँदा खेरी विदेशी मुद्रा आर्जनका माध्यमहरु स्पष्ट पार्नुपर्छ । देशमा समृद्धिको कुरा गर्ने हो भने विदेशी मुद्रा आर्जन नगरिकन देश आर्थिक विकाशको बाटोमा अघि बढ्न सम्भब छैन । विदेशी मुद्रा आर्जन गर्ने केही तरिकाहरु छन् एक त विदेशमा सोझै सामान एक्सपोर्ट गर्र्ने, दोस्रो बाहिरबाट डोनेसन प्राप्त गर्ने, तेश्रो वैदेशिक लगानी, चौथो रेमिटेन्स, र पाँचौ हो, पर्यटन । तर पछिल्लो समय डोनेसनसँग शर्त आउने हुँदा डोनेसन देशको लागि महंगो भएको छ । त्यो शर्तले विकाश हुन नदिने, मान्छेहरुलाई मेन्टल्ली प्यारालाईज्ड गर्दिने भएकाले त्यसमा हामीले फोकस गर्नुहुन्न, भन्ने विचार राख्छौं हामी । सकभर नेपाल अब नट अ डोनेसन रिसिभिङ कन्ट्री भनेर डिक्लियर गर्दिए हुन्छ । केही समय अघि नो एडजस्ट ट्रेड भनेर हामीले एउटा आवाज पनि उठायौं र अगाडि बढ्यौं ।
त्यस्तै एक्सपोर्टको एउटा अर्को मोडेल छ, जुन चाइनाले अहिले ओभर मोडल, त्यो एक्सपोर्टको बेस्ट मोडेल हो । अर्को मोडेल नेपाल जस्तो देशले गर्ने भनेको एउटा त नर्मल एक्सपोर्ट हो र दोस्रो हो पर्यटन । एक्सपोर्ट भनेको बाहिर सामान पठाएर विदेशी मुद्रा आर्जन गर्ने बाटो हो, तर टुरिजम भनेको ढोकामा सामान बेचेर विदेशी मुद्रा आर्जन गर्ने माध्यम हो । दुनियाँ रिस्क लिएर त्यहाँ सामान पु¥याएर एक्सपोर्ट गर्नु त्यो रेगुलर एक्सपोर्ट भयो तर टुरिजम सेक्टर भनेको ईम्पोटर्स एट योर डोर हो र यो देशको समृद्धिको लागि बलियो आधार पनि हो । टुरिजम्लाई ईम्पोर्टर एट योर डोर अथवा एक्स्पोर्ट फर्म योर डोर भनिरहँदा जसरी सामान निर्यात गर्नेलाई ईन्सेन्टिभ दिईन्छ, त्यसैगर हाई भ्यालु टुरिष्ट भित्र्याउने व्यसायीलाई पनि दिनुपर्छ । पर्यटकहरुले जतिपनि सामानहरु हाम्रो देशबाट किन्छन, उनिहरुले विदेशी मुद्रा दिएर जान्छन् । यो हाम्रो देशमा विदेशी मुद्रा आर्जन गर्ने उत्तम उपाए हुन सक्छ । यो सेक्टरमा आवश्यक सुधार गर्नुपर्छ ।
‘हामी ट्रिगर कक गरेर दाब्न मात्र बाँकी रहेका मेसिनगन जस्ता हौं, जतिबेला पनि पड्किन सक्छौं’ यो रोबर्ट युगमा समयसँगै अघि बढ्न सक्नुपर्ने भन्दै उनी भन्छन् ‘अब पौराणिक र परम्परागत पद्धतिबाट विकाश सम्भव छैन, टेक्निकल ज्ञान भएको मान्छेले अवसर पाएमात्र प्रतिस्पर्धी हिसाबले काम गर्नसक्छ ।’ देशलाई आर्थिक समृद्धितिर अघि बढाउने कार्यक्रमहरुलाई सम्बोधन गर्न आफ्नो बिजनेसलाई भन्दा पनि प्राथमिकतामा राखी त्यस्ता कार्यक्रमहरुमा सक्रिय उनी विगत लामो समयदेखि देशलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउनुपर्छ भन्ने धारणाका साथ विविध अभियान सहित अघि बढिरहेका छन् । उनी भन्छन् ‘देशले आर्थिक समृद्धि प्राप्त गर्छ भने, म आफ्नो व्यवसायलाई भन्दा बढी समय त्यस्ता किसिमका काम कारवाहीहरुका लागि सुम्पन तयार छु’ ।